सुर्खेत ।कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाही बिरुद्ध नेकपाकै सांसदहरुले अविश्वासको प्रस्ताव प्रस्ताव दर्ता गरेपछि विवाद चर्किदै गएको छ । आइतबार १८ जना सांसदले मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव ल्याएका थिए ।
१८ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाही बिरुद्ध अविश्वासको प्रस्ताव दलका सचेतक गुलावजंग शाहीलाई दिएपछि मुख्यमन्त्री शाहीले संसदीय दलका प्रमुख सचेतक परिवर्तन गरेका छन् ।
मुख्यमन्त्री शाहीले प्रदेशसभा दलको विधानको धारा ७ बमोजिम प्रमुख सचेतक रहेका गुलाबजंग शाहलाई हटाएर सचेतक सीताकुमारी नेपालीलाई मनोनीत गरेका छन् ।
बहुमत प्रदेससभा सदस्यको आफुलाई समर्थन भएका कारणले अहिले संसदीय दलको सचेतक आफु नै रहेको गुलावजंग शाहले जानकारी दिए । ‘एक जनाले सचेतक पद हटाएर हुने सचेतक पद जादैँन ।’ उनले भने,‘बहुमत सदस्यको साथ मलाई रहेको छ ।’
आज आह्वान गरिएको संसदीय दलको बैठक दिउँसो १ बजेबाट सुरु हुने र संसदीय दलको नेताबाट महेन्द्रबहादुर शाहीले हटाउने संकेत दिदैँ यस बिषयमा छलफल हुने शाहले जानकारी दिए । ‘बैठकले दलको नेताका बिषयमा छलफल गर्छ ।’ उनले भने,‘बैठकको निर्णयलाई सबै सासदहरुले मान्नुपर्ने हुन्छ ।’