सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा केन्द्रमा विवाद देखिएपछि कर्णालीमा ओली समूह र प्रचण्ड–नेपाल समूह शक्ति संचयमा लागेका छन् । फुटको संघारमा रहेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा अहिले कर्णाली प्रदेशमा गुटको जोडघटाउमा लागेका हुन् ।
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई अविश्वासको प्रस्ताव ल्याएपछि चर्किएको नेकपा विवादमा केन्द्रमा नै पुगेको बेला अहिले कर्णाली सुनसान देखिएपनि आन्तरिक जोड घटाउको राजनीति कर्णालीका नेकपा नेताहरु लागेका छन् ।
कर्णालीमा अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको माधव नेपाल र रामबहादुर थापा बादलको पनि गुट सक्रिय छ ।
पार्टीमा सबैभन्दा बलियो गुट प्रचण्ड–नेपाल पक्षधर देखिएको छ । कर्णालीका १० जिल्लामध्ये प्रचण्डको समूहका ४ जिल्ला अध्यक्ष छन् भने नेपाल समूहका २ जिल्ला अध्यक्ष गरेर ६ जना खुलेर लागेका छन् । कर्णालीका १० जिल्लामध्ये जुम्लाका वीरबहादुर कुँवर, रुकुमपश्चिमका गोपाल शर्मा, हुम्लाका लालकेश जैशी र मुगुका सुरवीर बुढा प्रचण्ड समूहमा हुन् भने नेपाल समूहको नेपाल समूहमा सुर्खेतका ध्रुब शाही र डोल्पाका दत्तबहादुर रोकाया रहेका छन् ।
पार्टी अध्यक्ष ओली समूहमा दैलेखका रवीन्द्र शर्मा र सल्यानका गोविन्द पुन छन् ।
गृहमन्त्री रहेका रामबहादुर थापा समूहका जाजरकोटका ढकवीर राना र कालिकोटका धनजित शाही रहेका छन् । थापाले केन्द्रमा ओलीलाई साथ दिएका कारणले यी दुई जिल्लाका अध्यक्ष पनि कता लाग्ने हुन भन्ने कुरा एकिन नभएका कारणले अहिले कुनै गुटका नखुलेका कारणले यो पक्षका हुन भनेर भन्न नसकिने अवस्थामा रहेको एक केन्द्रीय सदस्यले बताए ।
त्यस्तै, कर्णालीका जिल्ला सचिव गुटमा विभाजित छन् । प्रचण्ड समूहमा सुर्खेतका कृष्णबहादुर जिसी, सल्यानका कर्णबहादुर बुढाथोकी, डोल्पाका मालबहादुर रोकाय र दैलेखका प्रेम कटुवाल रहेका छन्, भने नेपाल समूहका सचिवहरूमा जाजरकोटका करवीर शाही, जुम्लाका तीर्थबहादुर बुढा, धर्मबहादुर शाही र रुकुमपश्चिमका विमल पुन छन् ।
ओली समूहमा कालिकोटका नागिन्द्र शाही, हुम्लाका दल रावल छन् ।
जिल्ला सचिवमा प्रचण्ड–नेपाल सूमहमा ८ जना खुलेर लागेका छन् भने ओली समूहमा २ जना मात्र खुलेर लागेका छन् ।
संसदीय दलमा जोड–घटाउ
कर्णाली प्रदेश संसद सचिवालयमा ४० जनामध्ये नेकपाका ३० जना सांसद रहेका छन् ।
कर्णालीमा प्रचण्ड समूहका १० जना, नेपाल सूमहका ८ जना, ओली समूहका १२ जना र थापा समूहका ३ जना सांसद रहेका छन् ।
केन्द्रमा प्रचण्ड(नेपाल समूह बनेमा कर्णालीमा यो समूहका १८ जना सांसद हुनेछन् । केन्द्रमा जस्तै कर्णालीमा ओली–थापा समूह बनेमा यो समूहका १५ जना सांसद हुनेछन् ।
प्रदेश सरकार बनाउन दुबै समूहमा बहुमत नपुग्ने भएका कारणले प्रदेश सभामा ६ जना सांसद भएको नेपाली कांग्रेसलाई मुख्यमन्त्री बन्न सक्ने आंकलन गर्न थालिएको छ ।
मुख्यमन्त्री बन्न सक्छनः कांग्रेसका जीवनबहादुर शाही
कर्णाली प्रदेशसभामा अविश्वासका प्रस्ताव ल्याउँदा प्रचण्ड(नेपाल समूह मिलेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही जोगाएको, कुनै पनि हालतमा ओली(थापा समूहले प्रचण्ड(नेपाल समूहले एकअर्कालाई सहयोग गर्न सक्ने अवस्था नरहेको त्यो अवस्थामा ६ जना सांसद भएको नेपाली कांग्रेसलाई सहयोग गर्ने अवस्था आउने एक सांसदले बताए । ‘दुवै समूहको पानी बारबारको अवस्थामा रहेको छ ।’ उनले भने,‘यो अवस्थामा बहुदलमा राप्रपाका सुर्यबहादुर थापा र लोकेन्द्रबहादु चन्द्र प्रधानमन्त्री भएजस्तै कर्णालीमा कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्न सक्छन् ।’
राजनीतिमा कुनै बेला के हुुन्छ भन्ने नसकिने अवस्थामा अहिले नेकपा दुबै समूहले नेपाली कांग्रेसलाई औपचारिक प्रस्ताव नल्याएपनि अनौपचारिक रुपमा कांग्रेससँग मिल्न प्रयास गरिरहेको नेपाली कांग्रेसका एक सांसदले बताए । ‘उहाँहरुका दुवै समूहले अनौचारिक रुपमा केन्द्रको अवस्था हेर्दा कांग्रेससँग मिल्नुपर्ने अवस्था आएको छ भन्नुभएको छ ।’ उनले भने,‘तर, अहिलेसम्म मुख्यमन्त्री कसलाई दिने बिषयमा छलफल भएको छैन् ।’
ती सांसदका अनुसार कर्णालीमा कांग्रेसले मुख्यमन्त्री नपाए सरकारमा सहभागी नहुने बताए ।
कुन गुटको नेतृत्व कसले गरेका छन्
कर्णालीमा अध्यक्ष ओली गुटको नेतृत्व नेकपा कर्णाली प्रदेश सह(इन्चार्ज तथा प्रदेशसभा सदस्य यामलाल कँडेलले गरेका छन् । माधव नेपाल गुटको नेतृत्व केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले गरिरहेका छन् । त्यसैगरी, नेता रामबहादुर थापाको समूहको नेतृत्व नेकपाका कर्णालीका सचिव तथा राष्टिूयसभा सदस्य मायाप्रसाद शर्माले गरेको, प्रचण्ड समूहको गुटको नेतृत्व नेकपा कर्णाली प्रदेश इन्चार्ज रहेका जर्नादन शर्मा र शक्तिबहादुर बस्नेतले गरेका छन् ।
शर्मा र बस्नेतका कर्णालीमा फरक फरक गुट रहेको नेकपा स्रोतले जानकारी दिएको छ ।