सुर्खेत । चीनसँग सीमा जोडिएको हुम्ला हिल्सा नाकामा सिमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल(बिओपी)ले माइनस १४ डिग्री सेन्टिग्रेड तापक्रममा सिमा गस्ती गर्न थालेको छ । अघिल्लो साता हिमपात भएका कारणले त्यहाँको तापक्रम माइनस १४ डिग्री सेन्टिग्रेडमा झरेको अवस्थामा पनि सिमा सुरक्षा बल(बिओपी)ले गस्ती गर्न थालेको हो ।
चिसो अत्यधिक बढेपछि पानीसमेत जम्न थालेको र चिसोमा पनि सिमा सुरक्षाका लागि गस्ती गर्न थालिएको बिओपीका इन्चार्ज सशस्त्र प्रहरीका इन्स्पेक्टर सुरज केसीले जानकारी दिए । ‘चिसो बढ्दा कठिनाइ भएको छ ।’ उनले भने,‘दिउँसो केही कम भए पनि बिहान–बेलुका र राति तापक्रम माइनसमा झर्ने गरेको छ ।’
चिसोका कारणले खानेपानीका धारामा बरफ जम्ने गरेको पानी खानसमेत कठिनाई भएको केसीले बताए । ‘चिसो अत्याधिक बढेको छ ।’ उनले भने,‘खान बस्नसमेत कठिनाई भएको ठाउँमा अहिले हामीले सिमा रक्षाका लागि बसिरहेका छौं ।’
हिल्सा नाकामा अहिले बिओपीका २० जनाको टोली रहेदै आएको छ ।
चिसोका कारणले सिमा सुरक्षामा खटिएको प्रहरी टोली मंसिरको पहिलो सातामा नै हुम्ला सदरमुकाम सिमीकोट आइसकेको छ ।
हिल्सा नाकामा अहिले केही होटेल कुरुवा बसिरहेको र होटेल संचालकहरु पनि सदरमुकाममा गएको बिओपीले जनाएको छ ।