एजेन्सी । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
उनले खोप लगाएको अमेरिकी टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको थियो । उनले फाइजर–बायोएनटेकले बनाएको कोरोनाविरुद्धको खोप लगाएका हुन् । बाइडेनले डेलावेरको नेवार्कमा खोप लगाएका हुन् ।
खोप लगाउँदै उनले भने, ‘उपलब्ध भएको समयमा खोप लगाउन मानिसहरु तयार हुन् भनेर मैले लगाएको गरेको हुँ । खोपलाई लिएर चिन्ता गर्नु पर्ने कारण छैन ।’
देशमा खोप अभियान सुरु गरेकामा ट्रम्प प्रशासनलाई धन्यवाद दिनुपर्ने बाइडेनले बताए । बाइडेनकी श्रीमती डा।जिल बाइडेनले पनि खोप लगाएकी छन् ।
यसअघि नै तीन जना पूर्वराष्ट्रपतिहरु बिल क्लिन्टन, जर्ज डब्लु बुस र बाराक ओबामासहित राष्ट्रपतिमा निर्वाचित बाइडेनले आफूहरुले कोरोना भाइरसविरुद्धको खोप लगाउने घोषणा गरेका थिए ।
खोप लगाएमा सुरक्षित हुने सन्देश प्रवाह गर्न उनले सार्वजनिक रुपमा खोप लगाएका हुन् ।
अमेरिकी उपराष्ट्रपति माइक पेन्स र तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले पनि खोप लगाएका छन् । अमेरिकाले कोरोना भाइरसविरुद्धका दुई वटा खोपलाई मान्यता दिएको छ ।
फाइजर–बायोएनटेकको खोप र मोडेर्नाका खोपलाई अमेरिकामा मान्यता दिइएको छ । खोपले स्वीकृति पाइसकेपछि हालसम्म ५ लाखभन्दा बढीले खोप लगाइसकेका छन् ।
उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिस र उनका पति डग एमहोफले पनि आगामी साता खोप लगाउँदैछन् । बाइडेनले राष्ट्रपतिको कार्यभार सम्हालेको १०० दिनमा १० करोड अमेरिकीलाई खोप लगाउने योजना रहेको बताएका छन् ।
अमेरिका कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित मुलुक हो । अमेरिकामा हालसम्म १ करोड ८० लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने करिब ३ लाख २० हजारको मृत्यु भइसकेको छ ।