सुर्खेत । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–५ को रामजानकी सामुदायिक वन उपभोक्ता समूहको समिति छनौट गर्न दलीय आधारमा निर्वाचन शुरु भएको छ । केन्द्रमा नेकपा विभाजनको प्रभाव उपभोक्ता समिति छनौटमा देखिएको हो ।
उपभोक्ता समितिको निर्वाचनमा नेकपाको प्रचण्ड–नेपाल समूहको एउटा प्यानल बनाएर निर्वाचनमा होमिएको छ भने, नेकपा ओली समूह, नेपाली कांग्रेस र राप्रपाले एउटा प्यानल बनाएर चुनावमा होमिएका छन् ।
१३ सदस्यीय वन उपभोक्ता समूहमा प्रचण्ड–नेपाल समूहबाट ममता कार्की अध्यक्षको उम्मेदवार रहेकी छन् भने, ओली समूह, नेपाली कांग्रेस र राप्रपाले जगतबहादुर भण्डारीको अध्यक्षका उम्मेदवार रहेका छन् ।
प्रचण्ड–नेपाल प्यानलले मन्दिर चुनाव चिन्ह रोजेको र ओली, कांग्रेस, र राप्रपा नेपालको झन्डा चुनाव चिन्ह लिएर चुनावमा उत्रिएको नेपाल पत्रकार महासंघ सुर्खेतका सचिव सुदिप पुरीले जानकारी दिए । ‘यो सामुदायिक वनको निर्वाचन कुनै जनप्रतिनीधि छान्ने निर्वाचनभन्दा कम छैन् ।’ उनले भने,‘नेकपा विभाजन र पार्टीको शक्ति प्रद्र्धशनका रुपमा पनि उपभोक्ता समितिको निर्वाचनलाई लिएको छ ।’
सामुदायिक वन उपभोक्ता समितिको निर्वाचनमा १५७५ मतदाता संख्या रहेको अहिले मतदान शुरु भएको पुरीले जानकारी दिए ।