सुर्खेत । कर्णाली प्रदेश सरकारमा सामेल हुने आफ्ना मन्त्रीहरुका लागि नेपाली कांग्रेस संसदीय दलले आचारसंहिता बनाएको छ । सरकारमा सहभागी हुने मन्त्रीहरुका लागि कांग्रेसले १३ बुँदे आचारसंहिता पनि जारी गरेको हो ।
आचारसंहितामा भ्रष्टाचारमा शून्य सहनशिलताको नीतिलाई अवलम्बन गर्ने, आर्थिक अनुशासन, स्वच्छता, मितव्ययिता, शादा जीवनशैली अपनाउने, दान, उपहार, पुरस्कार, चन्दा वा निजी सेवा, सुविधा, लाभ र अस्वभाविक निमन्त्रणालाई स्वीकार गर्न नपाइने आचारसंहिता लागु गरिएको नेपाली कांग्रेसका कर्णाली प्रदेश सभाका सांसद हिमबहादुर शाहीले बताए । ‘मन्त्रालयसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा कोही कसैसँग व्यवसायिक साझेदार, सहयोगी बन्न तथा व्यवसाय गर्दा गर्न पार्टीले प्रतिवन्ध लगाएको छ ।’ उनले भने,‘कसैको स्वाभिमान र अस्तित्वमाथि खलल हुने कुनैपनि कार्यलाई निरुत्साहित गर्नुपर्ने, कानुनले बर्जित गरेका कुनैपनि आचरण विपरित हुने कार्यहरु गर्न पाइने छैन् ।’
कांग्रेस संसदीय दलले सामाजिक विकास मन्त्रीमा सुर्खेतका यज्ञबहादुर बिसी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा जुम्लाका दीनबन्धु श्रेष्ठ पठाउने निर्णय गरेको छ ।
कांग्रेसबाट मन्त्री भएका बिसी र शाहीको आइतबार मात्र नियुक्ति र पद तथा गोपनीयताको शपथग्रहण हुने भएको छ ।
नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि चैत अन्तिम साता कांग्रेस र माओवादी केन्द्रबीच सत्ता साझेदारीबारे सहमति भएको थियो । त्यसको आधारमा बैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई कांग्रेसले विश्वासको मत दिएको थियो । कांग्रेस विश्वासको मत दिदाँ शाहीले आफ्नो प्रदेश सरकार बचाएका थिए ।