सुर्खेत । जिल्ला कोरोना(कोभिड–१९)कोभिड व्यवस्थापन समितिको सोमबार बसेको बैठकले निषेधाज्ञा जेठ ३१ गतेसम्म थप्ने निर्णय गरेको छ । जिल्लामा कोरोना(कोभिड–१९) महामारीको बढ्दो संक्रमण, नियन्त्रण, रोकथाम तथा उपचारलाई सहज तुल्याउन जेठ ३१ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
यसभन्दा अघि लगाइएको निषेधाज्ञाको प्रभावकारीता, अस्पतालमा विरामीको उपचारको अवस्था, अक्सिजन आपूर्ति तथा परीक्षणको दायरा र पछिल्लो समयमा विभिन्न चिकित्सक तथा प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य संयोजक र आइसोलेशन सेन्टरका ईन्चार्जसँग भर्चुअल माध्यमबाट भएको बैठक र स्थानीय तहको पछिल्लो बस्तुस्थितिबारे समिक्षा गर्दै निषेधाज्ञा थप्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।
हाल जिल्लामा संक्रमणको दर केही कमी देखिए तापनि संक्रमणको जालो तोड्न अझै केही समय निषेधाज्ञाको समयावधि बढाई रोकथाम, नियन्त्रण र उपचारको पद्धतिलाई व्यवस्थित गर्नुपर्ने देखिएकोले जेठ ३१ राती १२ः०० बजेसम्म निषेधाज्ञाको आदेशलाई निरन्तरता दिन सिफारिस गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महतले बताए ।