सुर्खेत । कालिकोटमा ब्लड बैंक(रगत संकलन केन्द्र) नहुुँदा रगत चाहिने बिरामीलाई समस्या भएको छ । जिल्ला अस्पताल कालिकोटका रगतको आवश्यकता पर्ने गम्भीर बिरामीलाई रगतको आवश्यकता पर्दा जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले रगत दिनु पर्ने बाध्यता रहेको छ ।
जिल्ला अस्पताल कालिकोटका रगतको आवश्यकता पर्दा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले रगत दिनु परेको जिल्ला अस्पताल कालिकोटमा कार्यरत रगत संकलनकर्ता पवन आचार्यले बताए । ‘यो वर्षमा मात्रै दुई सय जनाले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले रगत दिएका छन ।’ उनले भने,‘जिल्लामा ब्लड बैंक छैन् । अधिकांश स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले रगत दिनु परेको छ ।’
अस्पतालमै ब्लड बंैक भएको भए रगत अभाव नहुने, रगतका लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई खोज्नु नपर्ने आचार्यले जानकारी दिए । ‘ब्लड बैंक भएको भए रगत संकलन गर्न सजिलो हुन्थ्यो ।’ उनले भने, ‘बिरामीलाई रगत अभाव भएको बेला रातारात रगत खोज्न पर्थेन । जतिखेर चाहिएको बेला बिरामीले रगत पाउने अवस्था आउथ्यो ।’
बिरामीलाई रगत अभाव भएमा फेसबुक र फोन नगरी बिरामीको ज्यान बचाउनका अपिल गर्नुपर्ने नभए स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई फोन गरेर रगत संकलन गर्नुपर्ने अवस्था आएको आचार्यको भनाई छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख कटकबहादुर महतले १३ पटक रगत दान गरेको, जिल्ला अस्पताल कालिकोटमा कार्यरत स्वास्थ्यकर्मी प्रकाश अधिकारीले १० पटक रगत दान गरिसकेको आचार्यले जानकारी दिए ।
जिल्लामा रगतको जहिले पनि अभाव हुने गरेको ५० शैयाको अस्पताल संचालनमा आउने बित्तिकै अस्पतालमा ब्लड बैंक स्थापना गर्ने स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख कटक महतले बताए । ‘ब्लड बैंक स्थापनाका लागि पहिले नै पहल गरिएको हो ।’ उनले भने,‘बत्तीको अभावका कारणले पनी स्थापना गर्न सकिएको थिएन् ।’
जिल्लामा विद्युत्को केन्द्रीय प्रशारण लाइन पुगेको र अस्पतालको ५० शैयासहितको सेवा संचालन गर्ने तयारी भएको अब अस्पतालमा नै ब्लड बंैक स्थापना गर्ने निमित्त प्रमुख महतले बताए । ‘अहिले बिरामीलाई रगत अभाव भएमा फोन गरेर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी अन्य दाताहरुको सहयोगमा रगत प्राप्त गरिरहेका छौँ ।’ उनले भने,‘रगत समयमा पाउन नसकेमा अन्य अस्पतालमा रेफर गर्ने गरेका छौं । रगतको अभावमा बिरामीको ज्यान भने गएको छैन ।’