काठमाडौं । कार्यतालिकाअनुसार १९ भदौ नेपाली कांग्रेसको १४औँ महाधिवेशन सक्ने अन्तिम मिति हो। तर, यस अवधिमा महाधिवेशन हुने सम्भावना टरिसकेको छ। संवैधानिक व्यवस्थाअनुसार २३ भदौभित्र अधिवेशन सम्पन्न हुन नसके कांग्रेस पार्टीको वैधानिकता रहनेछैन। पछिल्लो कार्यतालिकाअनुसार १२ साउनमा वडा तहको अधिवेशन सुरु हुनुपर्ने थियो। तर, क्रियाशील सदस्यता वितरण विवादका कारण वडा तहको अधिवेशन स्थगित हुन पुग्यो। नयाँ कार्यतालिका सार्वजनिक गरिएको छैन।
कांग्रेसले क्रियाशील सदस्यताको विषय टुंगो लगाएर नयाँ कार्यतालिका सार्वजनिक गर्ने तयारी गरिरहेको छ। प्रवक्ता विश्वप्रकाश शर्मा क्रियाशील सदस्यताको विषय शीर्ष नेतृत्वले टुंगो लगाउने बताउँछन्। यसअघि क्रियाशील सदस्यता विदाद मिलाउन शीर्ष नेताहरू छलफलमा पनि जुटेका थिए।
विवाद टुंगिइसकेका ठाउँको कार्यतालिका आउने क्रममा रहेको उनको भनाइ छ । उनी जसरी पनि महाधिवेशनबाहेक कांग्रेस जोगाउने अर्को विकल्प नरहेको स्विकार्छन्। ‘महाधिवेशनबाहेकको विकल्प हामीसँग छैन। क्रियाशील सदस्यताको टुंगो शीर्ष नेतृत्वले लगाइसकेको छ,’ उनी भन्छन्, ‘कसरी के गर्ने भन्नेबारे शीर्ष नेतृत्व तहमा छलफल जारी छ। छिट्टै कार्यतालिका सार्वजनिक हुन्छ।’
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने महाधिवेशनमा भएको ढिलाइबारे कुनै प्रतिक्रिया जनाउन मानेनन्। ‘पछिल्लो समय महाधिवेशनका विषयमा केही भएको छैन। मेरो भन्नु पनि केही छैन,’ उनले भने।